काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । चितवनले विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गरेको हो ।
आइतबार बिहान टियु क्रिकेट मैदानमा भएकाे खेलमा विराटनगरले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । चितवनका लागि राजेश पुलामीले सर्वाधिक ४३ रन बनाएर अविजित रहे । पुलामीले अन्तिम जितकाे बलमा ४ रन प्रहार गरेका थिए । त्यस्तै, भीम सार्कीले ३० रन, दिलीप नाथले २३ रन तथा करिम जनतले १९ रन जोडे ।
बलिङतर्फ विराटनगरका सिकन्दर राजा र कप्तान करण केसीले समान २/२ विकेट लिए भने प्रतिश जिसी, अनिल खरेल र रायन पठानको नाममा समान १/१ विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै, अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल शून्य रनमा नट आउट रहे ।
यसैगरी रायन पाठनले ४, चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोडे । सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेख शून्यमै आउट भए ।
चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले समान २/२ विकेट लिए । यस्तै शाहब आलमले एक विकेट हात पारे ।




