सप्तरी । सप्तरीमा पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी चिन्तित भएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारको छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको परिवारका सदस्यले बताए ।
शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । गत शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका छोरा तीन वर्षीय रहमतको डुबेरै मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी छोरी पाँच वर्षीया शिवानीको गतबुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबार भाँडा पखाल्न जाँदा अमृत सदाकी छोरी ३० वर्षीया लक्षनकुमारीको डुबेरै मृत्यु भएको थियोे । सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।
योसमेत आव २०७८/०७९ मा सप्तरीमा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये सात बालक, चार बालिकाका साथै दुई पुरुष र दुई महिला रहेका छन् ।




