भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रकृया प्रारम्भ भएको छ । यही प्रकृया अन्तर्गत शनिबारबाट सुरु भएको पालिका अधिवेशन देशभरिका ६४ जिल्लामा प्रारम्भ भएको हो । त्यसैअन्तर्गत चाँगुनारायण नगरपालिकाको नगरअधिवेशन शनिबार उद्घाटन भयो । आइतबार बिहान ८ बजेबाट नेतृत्व छनोटको प्रकृया आराम्भ हुने क्षेत्रीय सभापति जीवन खत्रीले जानकारी दिए ।
नगरसभापतिका लागि संस्थापन र संस्थापन इतरबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थापनबाट शिवहरि केसी चुनावी मैदानमा छ भने संस्थापन इतरबाट गोपाल पौडेलले नेतृत्व गरेका छन् । केसीले पूरै प्यानल बनाएर चुनावी मैदानमा सशक्तरुपमा प्रस्तुत भएका छन् भने पौडेलले पूरै टिम बनाउन सकेनन् ।
केसीको प्यानलबाट उपसभापतिमा राजेन्द्रकुमार दाहाल (राजकुमार) र दिनेश गिरी छन् भने सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रखेशर खत्री चुनावी मैदानमा छन् । केसी प्यानलबाट ५० भन्दा बढी सदस्य निर्विरोध भएकाले पनि नेतृत्व छनोट एकपक्षीय हुने देखिएको छ । पौडेल समूहले टिम नै तयार नगरी चुनावी मैदानमा उत्रिएकाले नगर नेतृत्वमा छनोट हुने सम्भावना एकदमै न्यून रहेको जानकारहरु बताउँछन् ।





