काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीको पुननिर्माणका लागि काबिल नेतृत्व छनोट गर्न अपिल गरेका छन् । काँग्रेसको पालिका तहको अधिवेशन आजबाट शुरुहुन लागेको अवसरमा सामाजिक सञ्जालमार्फत नेता थापाले यस्तो अपिल गरेका हुन् ।
उनले जग बलियो भयो भने मात्रै घर बलियो बन्न सक्छ, जरा बलियो भयो भने मात्रै काँग्रेसको रुख सिङ्गो देशको छहारी बन्न सक्ने बताएका छन् ।
उनले भनेका छन्-
स्थानीय तहका लागि नेतृत्व छनोट गर्न नेपाली काँग्रेसको गाउँ/नगरपालिकाको अधिवेशन आजबाट प्रारम्भ हुदैछ । देश संघीयतामा गइसकेपछिको यो पहिलो अधिवेशन हो । संघीय संरचनामा स्थानीय तह पार्टीको जनतासँगको पहिलो र महत्त्वपूर्ण संवाद विन्दु हो, जग हो, मुहान हो । जग बलियो भयो भने मात्रै घर बलियो बन्न सक्छ, जरा बलियो भयो भने मात्रै काँग्रेसको रुख सिङ्गो देशको छहारी बन्न सक्छ ।
आजको अधिवेशनबाट स्थानीय तहको विकास, पार्टी संगठनको सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट गर्नुहुनेछ भन्ने विश्वास सहित आज हुन गइरहेका गाउँपालिका, नगरपालिका अधिवेशनको सफलताको कामना गर्दछु ।




