खेलकुद

रोहित चन्द सम्मिलित पर्सिजाको पहिलो जित

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले पहिलो जित निकालेको छ ।

शुक्रबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सेला लामोङगानलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो ।

चौथो खेलमा आएर पहिलो जित निकाल्ने क्रममा घरेलु टोली जाकर्ताको लागि मार्को सिमिक र अलफ्रीयाण्टो निकोले एक एक गोल गरे । पराजित पर्सेलाको लागि इभान कार्लोसले सान्त्वना गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको जाकर्ताले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

जाकर्ताले खेलको २१ मिनेटमा अग्रता बनायो । क्रोयशियन स्ट्राइकर सिमिकले पेनाल्टीमार्फत गोल गरे । खेलको ४६ मिनेटमा जाकर्ताले अग्रता २-० को बनायो । १८ वर्षीय इन्डोनेशियन खेलाडी निकोले अग्रता दोब्बर बनाए ।

खेलको ६३ मिनेटमा भ्रमणकारी टोली पर्सेलाको लागि कार्लोसले गोल गरे पनि हार टार्न भने सकेनन् । नेपाल रास्ट्रिय खेलाडी चन्दले पर्सेलाविरुद्ध पूरा समय खेलेका थिए ।

इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमनपछि पर्सिजाले पहिलो तीन अंक हासिल गरेको हो । अघिल्ला तीन खेलमा टोलीले जम्मा ३ अंक जोडेको छ ।

जितसँगै तालिकामा अपराजित रहेको जाकर्ताले ४ खेलबाट १ जित र ३ बराबरसहित ६ अंक बनाएर छैटौँ स्थानमा छ ।

यता, पराजित पर्सेला भने ४ खेलबाट ३ अंक सहित १३औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *