मनोरञ्जन

दशैंअघि नै सिनेमा हल खुल्ने, एक दर्जन चलचित्रको प्रदर्शन मिति तोकिँदै

काठमाडौं। कोभिड–१९ का कारण प्रदर्शनको तयारीमा रहेर पनि पछि हटेका अधिकांश चलचित्रले प्रदर्शन मिति पुनः तय गर्न सकेका छैनन् । ११ चैत ०७६ देखि भएको पहिलो लकडाउन र १६ वैशाख ०७८ मा भएको दोस्रो लकडाउनका कारण चलचित्र क्षेत्र नै अन्योलमा परेको छ ।

पहिलो लकडाउन खुलेपछि चलचित्र चहलपहल सुरु हुन लागेको थियो । चलचित्र निर्माण घोषणा हुने, छायांकनमा जाने र प्रदर्शन हुने क्रमसमेत सुरु हँुदै थियो । पहिलो लकडाउन सकिएपछि निर्माता, निर्देशकहरू ‘अब ठिक भयो’ भन्ठानेर जुर्मुराउन थालेका थिए । तर, फेरि कोरोना संक्रमण बढ्न पुग्यो, जसकारण सरकारले पुनः पहिलाको भन्दा अलि कम कडाइका साथ लकडाउन लागू गर्यो । अहिले लगभग सबै क्षेत्र खुलिसकेको छ । तर दशै, तिहार सम्मुखमा हुँदासमेत चलचित्र प्रदर्शन गर्न निर्माता, निर्देशक तात्तिएका छन्, न हल सञ्चालक हल खोल्न आतुर छन् ।

‘यो दशैंमा त जसरी पनि हल खोल्छौ,’ निर्माता तथा हल व्यवसायी अशोक शर्माको दावी छ, ‘हल नखेलेसम्म चलचित्र क्षेत्र चलायमान हुन्न । चलचित्र क्षेत्र चलायमान हुन पनि चलचित्र चल्नुपर्छ ।’ निर्मातालाई हल सञ्चालक तथा चलचित्र विकास बोर्डले केही राहत दिएर भए पनि चलचित्र प्रदर्शन गर्न लगाउनुपर्ने उनको धारणा छ ।

उता, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल पनि आफू कोरोना प्रभावित चलचित्रलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा चिन्तित रहेको बताउने गर्छन् । ‘म हरदम चलचित्र क्षेत्र गतिशील बनाउनका लागि प्रयत्नरत छु,’ उनले भने, ‘शीर्ष नेता, निर्माता, हल व्यवसायी तथा सम्बन्धित संघसंस्थासँग छलफलमा जुटिरहेका छौ । छिट्टै केही ठोस निर्णय आउने छ ।’

सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराख्ने गरेकाले निर्माताको करोडौ लगानी डुबिरहेको तथा हजारौं कलाकार, प्राविधिक बेरोजगार हुने अवस्थामा पुगेको चलचित्रकर्मीहरू बताउँछन् । यद्यपि, देशभरका हल सञ्चालनमा नआए पनि, हलमा चलचित्र प्रदर्शन नभए पनि, केही कलाकार तथा प्राबिधिक भने म्युजिक भिडियो तथा टेलिचलचित्र, वेबसिरिजमा ब्यस्त हुने गरेका छन् । तर, पछिल्लो समय युट्युव भ्युज तथा आम्दानी निकै कम भइरहेकाले म्युजिक भिडियो निर्माताहरू पनि अन्योलमा छन् ।

कोरोना संक्रमणको सुरुवातअघि प्रदर्शन मिति तोेकेका केही चलचित्र एकाएक स्थगित भए । ती चलचित्र हुन्, फूलमान वलको ‘नीरफूल’, सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु–२’, शिवहरि पौडेल निर्देशित ‘लक्का जवान’, निकेश खड्का निर्देशित ‘चपली हाइट–३’, ‘प्रेमगीत–३’, रञ्जित रौनियार निर्देशित ‘माइकल अधिकारी’ र साकार पन्त निर्देशित ‘हिजो आजका कुरा’ ।

१६ फागुन ०७६ मा ‘धुलो’ नामक चलचित्र प्रदर्शन भएको थियो । २३ फागुनमा ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा टाइगर श्राफ अभिनित हिन्दी चलचित्र ‘बागी–३’ प्रदर्शनमा आयो । जसकारण सो चलचित्रसँग आफ्नो चलचित्र जुधाउन निर्देशक थापा डराए । उनले एकाएक आफ्नो चलचित्र एक साता पर सारे । अर्थात् उनको चलचित्रले नयाँ प्रदर्शन मिति तोके– ३० फागुनलाई । उक्त मितिमा ‘नीरफूल’ प्रदर्शन हुने तयारीमा थियो । तर कोभिड–१९ का कारण देश नै बन्द गर्ने चर्चा चल्न थाल्यो । फलस्वरूप चलचित्र प्रदर्शन स्थगित गर्न बाध्यता आइहाल्यो ।

२१ चैतमा ‘लक्का जवान’ र त्यसको एक सातापछि ‘प्रेमगीत–३’, ‘माइकल अधिकारी’ र ‘चपली हाइट–३’ ले प्रदर्शन मिति तोकेका थिए । त्यसैगरी, १२ वैशाख ०७७ मा ‘हिजो आजका कुरा’ प्रदर्शन हुने तयारीमा थियो ।

अहिले आएर यी कुनै चलचित्रले पनि नयाँ प्रदर्शन मिति तोकेका छैनन् । न त यी चलचित्रका निर्माताले दोस्रो लकडाउनअघि खुलेको बेलामा चलचित्र प्रदर्शन गर्ने तत्परता देखाए । पहिलो लकडाउन खुलेपछि भने आधा दर्जन बढी फिचर चलचित्र निर्माण भए । चलचित्र हुन्– ‘श्री’, ‘लक्ष्मीपूजा’, ‘कृष्ण लीला’,‘डिसेम्बर फल्स’, ‘गणपति’, ‘लोभीपापी’, ‘गोवर गणेश’, ‘बिहे पास’ लगायत । जयकिशन बस्नेत र सोभित बस्नेत टिमले निर्माण गरेको ‘लोभीपापी’ र ‘लक्ष्मीपूजा’ केही टिभीमा प्रसारण भइसकेको छ । ती चलचित्र हलमा भने आउने छैनन् ।

गत माघमा हल खुलेपछि शिव श्रेष्ठको ‘यस्तो एउटा प्रेमकहानी’, ‘गोर्खे’, ‘श्री’ र ‘गुडफ्रेन्ड’ हलमा प्रदर्शन भए । लगत्तै दोस्रो लकडाउन भयो । त्यसपछि गत भदौमा पचास प्रतिशत दर्शकका साथ काठमाडौका मात्रै हल खोल्न पाउने अनुमति सरकारले दिए पनि निर्माताले आफ्नो चलचित्र लगाइहाल्ने मनस्थिति बनाएका छैनन् । यद्यपि, दशैको सम्मुखमा केही अघि नै निर्माण भएको ‘धन्दागिरी’ र सोभित बस्नेतले भर्खरै सुटिङ सकाएको ‘डाडाँको वरपीपल’ प्रदर्शन गरिने घोषणा भएको छ ।

हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले आफूहरूले मोफसल हल पनि पूर्णरूपमा सञ्चालन गर्न दिन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको र अधिकांशबाट सकारात्मक प्रतिक्रिया आएकाले दशैअघि हल खुल्ने विश्वास व्यक्त गरेका छन् । ‘दशैं अघि हल खुल्छन् । हामी करिब एक दर्जन चलचित्रको प्रदर्शन मिति तोकेरै अघि बढ्ने तयारीमा छौं,’ प्रधानले भने ।

दोस्रो लकडाउनअघि चैत्र अन्तिममा ‘कृष्ण लीला’ र ‘लप्पन छप्पन–२’ ले प्रदर्शनको मिति तोकेर प्रचार पनि सुरु गरिसकेका थिए । तर, स्थगित गर्नु पर्यो । केही दिनअघि ‘लप्पन छप्पन–२’ ले १३ फागुनमा चलचित्र प्रदर्शन गर्ने नयाँ मिति सार्वजनिक गरेको छ । त्यसैगरी, निर्मात्री, निर्देशक झरना थापाले पनि आफ्नो चलचित्र ‘ए मेरो हजुर–४’ २८ चैतमा प्रदर्शन गर्ने निधो गरेकी छिन् । अन्य चलचित्रका प्रदर्शन मिति भने अझै तय भएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *