गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य, यस्ता छन् उपलब्धी

पोखरा। गण्डकी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गरिदिएका हुन् । सोमबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले बर्खे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

यो अधिवेशन गण्डकीका लागि ऐतिहासिक बन्यो । सातवटै प्रदेशमा पहिलो पटक गण्डकीले नयाँ सरकार गठन गर्‍यो । तत्कालीन नेकपा एमालेको नेतृत्वको सरकार ढालेर विपक्षी गठबन्धनले सरकार बनाएका हुन् । अहिले यहाँ कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार छ ।

१६ जेठ मा आठौं अधिवेशन बोलाइएकोमा २६ जेठ मा संविधानको धारा १६८ (३) बमोजिम गठन भएको तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वासको मत पाएन । जेठ २९ मा विपक्षी गठबन्धनले बहुमत पुर्‍याएर सरकार बनाए । यहाँ एमालेमात्रै प्रतिपक्षमा छ ।

यो अधिवेशनमा चालू वर्षको बजेट, नीति तथा कार्यक्रम पास भयो । सरकार गठन भएको भोलिपल्टै नीति तथा कार्यक्रम र पर्सीपल्ट बजेट ल्याइएको थियो । संसदमा ४ वटा विधेयक टेबुल भएकोमा दुईवटा विधेयक पास भएको छ । प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक तथा सुविधा बढाउने विधेयक र प्राइभेट फर्म दर्ता सम्बन्धी विधेयक पास भएको हो ।

आमसञ्चार विधेयक, बालबालिकाको अधिकारसम्बन्धी विधेयक विधायन समितिमा छलफल भैरहेको छ । आठौं अधिवेशनमा २८ वटा बैठक बस्यो । अर्को अधिवेशन चाडपर्व सकिएपछि हिउँदमा आह्वान हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *