काठमाण्डाैं । एमाले अध्यक्ष केपी शर्माले माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुमाथि आफू नेतृत्वको सरकार ढाल्ने मुख्य योजनाकार भएको आरोप लगाएका छन्। आगामी विधान महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले १० बुँदे सहमति गरेर अहिले पार्टी एकताको पक्षमा उभिनेहरु नै पार्टीको नीति र नेतृत्व विरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न भएको आरोप लगाएका हुन्। आफ्नो सरकार विस्थापित गर्ने योजनाकार र पुष्पकमल दाहालका सारथी बनेर काम गरेको आरोप ओलीको छ। एमालेको जारी स्थायी कमिटी बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएकाे छ-नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए ।
यिनीहरू नै २०७२–७३ मा सञ्चालित नेकपा (एमाले) नेतृत्वको सरकारलाईविस्थापित गर्ने भित्री योजनाकार थिए र नेकपालाई सके कब्जा नभएर विभाजित गर्ने पुष्पकमल दाहालको अभियानका सारथी पनि। उनले १० बुँदे सहमति गरेर एमालेमा बसेकाहरुलाई फेरि पनि विश्वास गर्न सकिने अवस्था नरहेको पनि संकेत गरेका छन्। १० बुँदे सहमति गर्नेहरुमा माधवकुमार नेपाल निकट रहेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए। ओलीको कार्यशैलीको चर्को विरोध गर्दै आएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, सचिव भीम आचार्य र योगेश भट्टराई सोही १० बुँदे सहमतिका आधारमा पार्टी एक भएको भन्दै एमालेमै छन्।




