एजेन्सी । अमेरिका, वेलायत र अस्ट्रेलियाबीच भएको सम्झौताका कारण विवाद उब्जेपछि फ्रान्सका रक्षामन्त्रीले वेलायती समकक्षीसँगको एउटा वार्ता रद्द गरेका छन्।
अस्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछि हटेर ओकस भनिने एउटा सम्झौतामा हस्ताक्षर गरेपछि प्यारिस क्रुद्ध बनेको छ।
फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले यसैसाता लण्डनमा तय गरिएको समकक्षी बेन वालेससँगको बैठक रद्द गरेका हुन् ।
त्रिदेशीय सम्झौताप्रति फ्रान्स आक्रोशित छ । आफूसँग भएको सम्झौता तोडेर अस्ट्रेलियाले अर्को सम्झौता गरेको भन्दै उसले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना दूत फिर्ता गरेको छ । सम्झौताअनुसार अस्ट्रेलियालाई कम्तिमा आठ ओटा आणविक पनडुब्बीका लागि अमेरिकाले प्राविधिक सहयोग गर्नेछ ।




