काठमाडौँ । भारतको पञ्जाब राज्यका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले राजीनामा दिएका छन् । पञ्जाब काँग्रेसमा पछिल्ला दिनहरुमा देखिएको विवादका कारण मुख्यमन्त्री सिंहले राजीनामा दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पञ्जाबमा भारतीय नेशनल काँग्रेसले पूर्व क्रिकेटर नवजोत सिद्धुलाई प्रमुख बनाएपछि काँग्रेस पार्टी भित्र चरम विवाद बढेको थियो ।
मुख्यमन्त्रीबाट राजीनामा दिएका सिंहले काँग्रेस पार्टी छोड्न सक्ने बताइएको छ । अब काँग्रेस विधानसभा संसदीय दलको बैठकले नयाँ नेता चुन्ने बताइएको छ ।
११७ सदस्यीय विधानसभा रहेको पञ्जाबमा २०१७ मा भएको निर्वाचनमा काँग्रेसले ७७ स्थानमा जितेको थियो । त्यस्तै पञ्जाबमा आम आदमी पार्टीको २० र शिरोमणि अकाली दलको १५, बिजेपीको ३ र लोक इन्साफ पार्टीको २ सिट रहेको छ ।




