काठमाडौँ । अमेरिका-अस्ट्रेलिया-बेलायतको सैन्य सम्झौता पछि फ्रान्स कडा विरोधमा उत्रिएको छ । तीन देशको सैन्य सम्झौताको विरोधमा फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
फ्रान्सका विदेशमन्त्री जीन वाइभेज लिइ ड्रीयनले अहिलेको अवस्थाको असाधारण गम्भीरतालाई विचार गर्दै असाधारण फैसला लिइएको बताएका छन् ।
आकस नाम दिइएको तीन देशको सैन्य सम्झौताले फ्रान्सलाई ठुलो झट्का लागेको छ । फ्रान्सले केहि बर्षअघि अस्ट्रेलियासँग गरेको करिब ५६ बिलियन युरोको सम्झौतालाई यस सम्झौताले खारेज गरेपछि फ्रान्सले कडा विरोध गरिरहेको छ । फ्रान्सको अष्ट्रेलियासँगको सम्झौता अनुसार अस्ट्रेलियाको नौसेनाका लागि १२ पानि जहाज निर्माण गरिदिने सम्झौता भएको थियो । तर अस्ट्रेलियाले आकस सम्झौता अन्तर्गत परमाणु उर्जाबाट चल्ने पानी जहाज बनाउने भएपछि फ्रान्ससँगको सम्झौता भंग गरेको छ ।
फ्रान्सले यस अघि यो सम्झौतालाई ‘पीठमा छुरा घोपेको’ रुपमा टिप्पणी गरेको थियो ।
फ्रान्सले आफ्ना राजदुत फिर्ता बोलाउने निर्णय गरेपछि अमेरिकाले खेद व्यक्त गर्दै कुराकानीबाट समस्याको समाधान गर्ने बताएको छ । ह्वाइटहाउसका एक अधिकारीले फ्रान्ससँग यस विषयमा कुराकानी हुने बताएको बिबिसीले उल्लेख गरेको छ ।




