काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल पक्षलाई सकस परेको छ।
केही दिनयता आपसमा संवाद नभए पनि साझा उम्मेदवार चयन गर्ने प्रतिबद्धता कायमै रहेको पौडेल पक्षका नेताहरूले बताइरहेका छन्। भदौ १७ गते पौडेल पक्षबाट सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त पत्रकार सम्मेलन गरी १४औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरेका थिए।
भदौ १८ बाट कांग्रेसको वडा अविधेशन सुरु हुँदै थियो। कमसेकम वडा अविधेशनअघि साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल पक्षको प्रयास थियो। यसका लागि पौडेल पक्षका नेताहरूले लगातार ३ दिनसम्म बैठक गरेका थिए।
साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि आफूहरू एक भएको सन्देश दिन पौडेल पक्षका नेताहरूले १७ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए। तर त्यो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ ।




