काठमाडौं । धुम्वाराहीबाट थापाथली सारिएको एमाले केन्द्रीय कार्यालय जनवर्गीय संगठनको कोठे बैठक बस्नमै सीमित भएको छ । गत नौ वैशाखमा थापाथलीमा सरेको केन्द्रीय कार्यालयको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्दै पार्टीका सबै गतिविधि केन्द्रीय कार्यालयबाटै हुने बताएका थिए ।
तर, उद्घाटनको ६ महिना पुग्नलाग्दासमेत सो कार्यालय भने केन्द्रीय नेताहरुको कार्यालय र पार्टीका जनवर्गीय संगठनले राख्ने कोठे बैठकमा मात्र सीमित छ । पार्टीभित्रको आन्तरिम असन्तुष्टि चरम भएका बेला धुम्बाराहीबाट कार्यालय सारिए पनि त्यसयता पार्टीका केन्द्रीय निकायको कुनै पनि गतिविधि सो कार्यालयबाट भएको छैन ।
पार्टीको स्थायी कमिटीदेखि केन्द्रीय कमिटी हुँदै पार्टीका केन्द्रीय विभागहरूका बैठकसमेत ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानबाट हुँदै आएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ स्थान अभावका कारण थापाथलीको कार्यालयबाट पार्टीका गतिविधि गर्न नसकिएको बताउँछन् ।
‘बैठक बस्न कोठाहरु साना भए, त्यही भएर पार्टीका सामान्य नियमित काममात्र अहिले केन्द्रीय कार्यालयबाट भइरहेको छ’, तामाङले भने ।
उनले ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पर्याप्त ठाउँ भएकाले पार्टीले प्रतिष्ठानको हल र परिसर प्रयोग गरेको र त्यसवापत प्रतिष्ठानलाई आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ । उनले बल्खुमा पुनर्निर्माण हुन लागेको केन्द्रीय कार्यालय सम्पन्न भएसम्म पार्टीका ठूला गतिविधि, बैठक र सभा तुल्सीलाल स्मृति प्रतिष्ठानबाटै हुने बताए ।




