चैनपुर । संखुवासभाको मादी नगरपालिका–१ मा आङ नै जिरिङ हुने एकै परिवारका ६ जनाको हत्या भएको घटना एक साता बितिसक्दा पनि सत्यतथ्य बाहिर नल्याएको भन्दै खानेपानी पूर्वराज्यमन्त्री दिपक खड्काले गम्भीर आपत्ति जनाएका छन् । दोषीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउनसमेत उनले माग गरेका छन् ।
घटनास्थलको अवलोकनपछि नेता खड्काले स्थानीयबासी आतंकित बनेकाे बताए । उनले त्यस क्षेत्रमा प्रहरी पोस्ट राखेर भए पनि स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला उपसभापति रामकुमार जिमी, सचिव डम्बर बस्नेत, महासमिति सदस्य ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारी, पूर्व जिल्ला सभापति जनक थापा,जिल्ला सदस्य पदम अधिकारीलगायतको टोली घटनास्थल पुगेको थियो ।
स्थानीयलाई शान्ति सुरक्षको प्रत्याभूति दिलाउन तथा मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत नेता खड्काले सरकारसँग माग गरे ।
गत भदौ २० गते एकै परिवारका ६ जनाको हत्या भएको थियो । उक्त हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिलाई प्रहरीले भोलि सार्वजनिक गर्ने बताइएको छ ।




