विश्व

लिबियाका पूर्व राष्ट्रपतिका छोरा सादी गद्धाफी टर्कीमा

इस्तानबुल । सन् २०११ को विद्रोहमा मारिएका लिबियाका तत्कालिन राष्ट्रपति माहमर गद्धाफीका छोरा सादी गद्धाफी जेलबाट मुक्त भएपछि टर्की पुगेको उनका प्रवक्ता मोसा इब्राहिमले पुष्टि गरेका छन् ।

गद्दाफी शासन कालमा शक्तिशाली शासक मानिने ४७ वर्षीयका सादी आफ्नो खेलकूदका लागि चिनिएका थिए । इटालीमा केही समय पेशेवर फुटबलरको रूपमा खेलेका सादी सन् २०११ को नेटो सैनिक गठबन्धनको समर्थनमा भएको विद्रोहपछि नाइजरतर्फ पलायन भएका थिए । उनलाई नाइजर सरकारले पक्राउ गरी सन् २०१४ मा लिबियालाई सुपुर्दगी गरेको थियो ।

उनलाई गद्दाफीका पूर्व मन्त्री र गुप्तचर प्रमुख अहमद रमजान लगायतका अन्य धेरै कैदीहरूसँग रिहा गरिएको थियो ।

सुरुमा लिबियाली सञ्चारमाध्यमले गद्दाफी टर्की पुगेको जानकारी दिएका भए पनि टर्कीको विदेश मन्त्रालयले शुक्रबार एएफपीलाई इस्तानबुलमा सादीको उपस्थितिबारे ‘केही थाहा नभएको’ बताएको थियो ।

“इजिप्ट, साउदी अरब र टर्कीले सादीलाई स्वागत गर्ने बताएकासादीका प्रवक्ताको भनाइ उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१४ पछि त्रिपोलीको जेलमा थुनिएका सादीविरूद्ध सन् २०११ को अरब आन्दोलनमा प्रजातन्त्रका लागि भएका प्रदर्शनमा सहभागीहरूविरुद्ध अपराध गरेको र २००५ मा लिबियाका फुटबल प्रशिक्षक बासिर अल–रायनीको हत्याको आरोप लगाइएको थियो ।

अप्रिल २०१८ मा रायानीको हत्याको अभियोगमा पुनरावेदन अदालतले उनलाई सफाइ दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *