राजनीति

विवादका बीच डडेल्धुरामा कांग्रेस वडा अधिवेशन, जिल्ला सभापतिले गरे बहिस्कारकाे घाेषणा

डडेल्धुरा।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकाे गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन सुरु भएकाे छ ।

जिल्ला कार्यसमितिले बहिस्कारकाे निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया सुरु भइसकेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । बाँकी वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेकाे निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।

कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटु‌ंग्याइ गरिएकाे अधिवेशनमा आफूहरुकाे सहभागिता नहुने बताए । सभापति देउवा पक्षधरले एकलाैटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मकाे टुंगाे केन्द्रबाटै लगाएकाे मल्लकाे आराेप छ । ‘देउवाले बल प्रयोग गरेर अधिवेशन गर्दैछन्। यो हामीलाई अमान्य छ,’ उनले भने।

कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेकाे आराेप छ । त्यस्तै लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो ।

नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ। यसअघि पनि कांग्रेसका दुई समूहबीच कुटाकुट भएको र विवादकाबीच अधिवेशन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *