जनकपुरधाम। प्रदेश नम्बर २: प्रदेशसभामा विगतमा प्रतिनिधित्व गर्ने दलहरू पाँच रहेको थियो भने वर्तमानमा प्रतिनिधित्व गर्ने दलको संख्या सात भएको छ। यश प्रदेशमा विगतमा जनता समाजवादी पार्टीको ५५, नेकपा एमालेको २१, नेपाल काँग्रेसको १९, नेकपा माओवादी केन्द्रको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसदहरूले प्रदेश दुईमा प्रतिनिधित्व गरिरहेको थियो भने हाल दल विभाजन पश्चात् अब सात दलले प्रदेशसभामा प्रतिनिधित्व गर्न भएको छ।
केपी ओलीको सरकार ढलेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि दुईवटा पार्टी टुक्रिएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले वैधानिकता पाउनासाथ संख्या बढेर गएको हो। जनता समाजवादी पार्टीबाट चोईटिएर महन्थ ठाकुरको नेतृत्वमा नवगठित लोसपामा जसपाबाट १६ जना प्रदेशसभा सदस्यहरू पार्टीबाट अलग भएर लोसपामा सनाखत गरेका छन भने नेकपा एमाले छाडेर माधवकुमार नेपालको नवगठित पार्टी नेकपा एकीकृत समाजवादी पार्टी रोज्नेको संख्या १३ रहेको छ।वर्तमान अवस्थामा यश प्रदेशमा लोसपा तेस्रो र नेकापा `एस´ चौथो स्थान प्राप्त गर्न सफल भएको छ। पार्टी विभाजन पश्चात् निर्वाचन आयोगले पार्टी फुटेका जनप्रतिनिधिलाई यही भदौ २२ गतेसम्म आफुखुशि दल रोज्न समय दिएको थियो।
वर्तमान अवस्थामा प्रदेश नम्बर २ को प्रदेशसभामा जसपा ३९ को संख्या प्राप्त गरि सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गरेको छ भने हिजोसम्म तेस्रो स्थानमा रहेको नेपाल काँग्रेस वर्तमान समयमा १९ सदस्यका साथ दोस्रो स्थानमा पुगेको छ भने नवगठित लोसपा १६ सदस्य लिएर तेस्रो स्थानमा, नेकपा `एस´ चौथो स्थानमा, पार्टी विभाजन पूर्व दोस्रो स्थानमारहेको नेकपा एमाले अब ८ जना प्रदेशसभा सदस्यमा खुम्चिएर बस्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ भने नेकपा माओवादी केन्द्रसंग पनि मात्र ८ जना प्रदेशसभा सदस्य रहेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ।
पार्टी विभाजन पश्चात् वर्तमानमा यश प्रदेशमा जसपा, नेका र माओवादी केन्द्रको संयुक्त सरकार छ भने माधवकुमार नेपालको नवगठित पार्टी नेकपा`एस´ पनि सरकारमा सहभागी हुने तरखरमा रहेको छ। प्रदेश सरकार गठन भए पछि मधेसवादी पार्टी राजपा र समाजवादी पार्टीको नेतृत्वमा प्रदेश २ मा सरकार बनेको भए पनि पछि दुबै पार्टी एक भएपश्चात जसपाको नेतृत्वमा सरकार रहेको थियोे भने बाँकी दलहरू विपक्षमा रहेको थियो। यश प्रदेशमा वर्तमानमा नेकपा एमाले विपक्षमा बस्नुपरेको छ भने लोसपा पार्टीले सरकारबाट समर्थन फिर्ता लिने तयारीमा रहेको सुत्रले जनाएको छ।
महन्थ ठाकुरको नेतृत्वमा नवगठित दल लोकतान्त्रिक समाजवादी पार्टीमा यश प्रदेशका ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले समर्थन जनाएका छन जसमा महोत्तरीबाट मात्र ६ पालिकाका प्रमुख, १० पालिकाका उपप्रमुख र ४४ जना वडाध्यक्ष गरि जम्मा २ सय ५८ जनाले समर्थनमा सनाखत गरेको छ। धनुषाका १ पालिका प्रमुख सहित २ पालिकाका उपप्रमुख गरि १ सय ९ जना, सप्तरीका ९६, सिरहाका १२, रौतहटका ८८, बाराका १ सय ३८ र पर्साका २८ जनाले लोसपाको पक्षमा सनाखत गरेको छ भने नेकपा `एस´ को पक्षमा सबैभन्दा बढी रौतहटका ८४ जना, धनुषा र सर्लाहीका ४८/४८, बाराका ३२, महोत्तरीका ६ र पर्साका ५ जना स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन।




