पोखरा । चीनको गोन्जाओ प्रान्तले पठाएको दुईवटा भेन्टिलेटरमध्ये एकवटा गण्डकी सरकारले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्रलाई हस्तान्तरण गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्राप्त भेन्टिलेटर अस्पताललाई हस्तान्तरण गरे ।
यस्तै, नेपाल भेन्टिलेटर सोइसाटीलाई पनि अर्को एउटा भेन्टिलेटर सहयोग गरिएको छ । नेपाल चीन जनमैत्री संघको संक्रियतामा गोन्जाओ प्रान्त सरकारले दुईवटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा दिइएको थियो । जसमध्ये अस्पताल र सोसाइटीलाई एक एकवटा दिइएको हो ।
मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकारले कोभिडको दुःखमा गरेको सहयोगप्रति धन्यवाद दिए । यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको भनाइ छ । गोन्जाओ र पोखरा महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । पोखरा महानगरलाईसमेत करिब दुई करोड बराबरको स्वास्थ्य उपकरण र सामग्री अघिल्लो साता सहयोग गरिएको थियो ।
गण्डकी प्रदेशलेसमेत पहिलो पटक चीनको हाईनान प्रान्तसँग मितेरी सम्बन्ध स्थापित गरेको छ । उक्त प्रान्तले गण्डकीका २० जना विद्यार्थीहरुलाई प्राविधिक शिक्षाका लागि निशुल्क पढाउने गरेको छ । नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले राष्ट्रिय सम्बन्ध जनस्तरमा विस्तार गर्न मितेरी सम्बन्धले धेरै टेवा पुगेको बताए । पोखरा र समग्र नेपालका लागि चीन प्रमुख बजार हो । त्यहाँका पर्यटकहरु विशेषशतः पोखराको भ्रमणमा आउने गरेका छन् ।
पर्यटकसँगै त्यहाँका व्यवसायीहरूलेसमेत पोखरामा व्यापार गरि बसेका छन् । यहाँका महत्वपूर्ण आयोजनामा पनि चिनियाँ कामदार कार्यरत छन् ।




