भोजपुर । भोजपुरमा एमालेबाट निर्वाचित स्थानीय तहका ६ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । षडानन्द नगरपालिकाका तीनजना भोजपुर नगरपालिकाका दुईजना र टेम्केमैयुङ गाउँपालिका एकजनाले दल रोज्न पाउने अन्तिम दिन अर्थात मंगलवार नेकपा (एसको पक्षमा सनाखत गरेका हुन् ।
मंगलबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, वडा सदस्य राधिका तामाङ, टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले नेकपा एकीकृतमा सनाखत गरे । त्यस्तै षडानन्द नगरपालिकाका कार्यपालिका सदस्यद्धय सुमन राई र गोविन्द विक तथा वडा सदस्य विशाल राईले नेकपा एकीकृतमा सनाखत गरेको उपप्रमुख राईले जानकारी दिइन् ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरले साँझ ५ बजेसम्म सनाखत गर्ने समय रहेकोले यो संख्या बढ्न सक्ने जनाएको छ ।
यस अघिनै प्रदेशसभा सदस्य राजेन्द्र कुमार राई, राष्ट्रिय सभा सदस्य जयन्ती राईले नेकपा एकीकृत समाजवादीमा सनाखत गराइसकेका छन् । लोकतानित्रक समाजवादी पार्टीमा भने अहिलेसम्म कसैले पनि सनाखत नगराएको निर्वाचन कार्यालयले जनाएको छ ।




