विश्व

अफगानिस्तानमा युद्ध अन्त्य भयो- तालिबान

काबुल । तालिबानले अफगानिस्तानमा युद्ध अन्त्य भएको घोषणा गरेको छ ।

तालिबानले सोमबार पंजशीर उपत्यकालाई आफ्नो समूहले नियन्त्रणमा लिएको दाबि गर्दै अब अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेको हो ।

विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चारै किल्ला कब्जा गरेको दाबी गरेको हो ।

तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् । तालिबान समूहसँग प्रतिकार गरेको एक समूहले यसबारे आफ्ना नेताको भनाइ छिट्टै आउने बताएको छ ।

तालिबान विद्रोहीहरूले पान्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन् ।

दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ । त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको जनाइएको छ ।

पंजशीर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो भएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *