समाचार

‘राज्यले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ’

​कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले राज्यले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने बताए । राज्यले केही आफ्ना दायित्वअन्तर्गत पर्ने काम नाफा वा घाटा जे भए पनि गर्नुपर्ने र त्यसबाहेकका क्षेत्रमा भने राज्यको भूमिका समन्वयकर्ता र उत्प्रेरकको रूपमा हुनुपर्ने उनले बताए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्वं) नवलपुरको कावासोतीमा नवलपुर उद्योग सङ्घको दोस्रो साधारणसभा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, “राज्यले निजी क्षेत्रलाई प्रोमोट गर्नुपर्छ, राज्यले आफैँ उद्योग चलाउँछु, आफैँ व्यापार गर्छु, आफँै कमाउँछु, त्यो सम्भव छैन भन्ने कुरा प्रमाणित भएको छ । केही दायित्वहरूको छन्, जुन राज्यले बोक्नुपर्छ, चाहे घाटा लागोस् चाहे फाइदा होस्, ती क्षेत्रबाहेक अरुमा राज्यको भूमिका भनेको समन्वयकर्ताको हो, उत्पे्ररकको हो, जसका आधारमा निजी क्षेत्रहरू अघि बढ्नुपर्छ ।”

मुख्यमन्त्री पोखरेले उद्योग स्थापनामा केही कानुनी जटिलता रहेको स्वीकार गर्दै कानुन सहज बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । कानुनले रोक्नेभन्दा भएका अप्ठ्यारा फुकाउनुपर्ने उनले बताए । “कानुन राम्रो हुनुपर्यो, कानुन सहज हुनुपर्यो, कानुनले रोक्ने होइन, कानुनले फुकाउनुपर्यो, यसतर्फ हाम्रो ध्यान नपुगेको स्वीकार गर्नुपर्छ”, मुख्यमन्त्री पोखरेले भन्नुभयो, कानुनी अप्ठ्यारो फुकाउन भने अझै पनि माथि ताक्नुपर्ने छ । उद्योग स्थापनाका लागि आउने अप्ठ्यारा फुकाउन आफू र आफ्नो प्रदेशले गर्ने कुरा तत्काल हुनसक्ने र प्राथमिकतामा पर्ने उनले बताए ।

अझै पनि धेरै कुराहरू सङ्घीयताको मर्मअनुसार बढ्न नसकेको मुख्यमन्त्री पोखरेले बताए । “मैले फुकाइदिने कुरा, मेरो प्रदेशको कुरा तत्काल हुनसक्थ्यो, यो मेरो प्राथमिकतामा हो, केन्द्रबाट धेरै जटिल हुन्छ भनेर सङ्घीयता ल्याएको हो तर अहिले पनि धेरै यस्ता कुराहरू छन्, जुन यो मर्मअनुसार अगाडि बढ्न सकेको छैन”, मुख्यमन्त्री पोखरेले भने ।

मुख्यमन्त्री पोखरेले प्रदेश सरकारले औधोगिक क्षेत्रमा लगानीकर्ता भित्र्याउन लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताएका छन् । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबीच छलफल चलिरहेको समेत उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *