राजनीति

सल्यानका ६४ स्थानीय जनप्रतिनिधिले नेकपा (एस) रोजे

सल्यान । सल्यानका स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्।

जिल्लाका १० स्थानीय तहका १४२ जनामध्ये एकैदिन ६४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ।

निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले बिहीबार एकजनाले र बाँकी ६३ जनाले शुक्रबार सनाखत गरेको जानकारी दिए।

स्थानीय तहका प्रमुख एक, उपप्रमुख एक र १६ जना वडाअध्यक्षले सनाखत गरेको नेकपा (एकीकृत समाजवादी) सल्यानका सचिव रमेश गौतमले बताए। एमालेले एक मेयरसहित ४ स्थानीय तहमा निर्वाचित भएको थियो। सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पनि निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा एमालेले २७ वडा जितेको थियो। सिद्ध कुमाख गाउँपालिका ४ का वडाध्यक्ष शिक्षक भएर गएर पछि का.भा. अध्यक्ष एमालेले पाएको छ।

जिल्लाका स्थानीय तहमा निर्वाचित भएका अझै केही जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने सचिव गौतमले बताए।

कार्यव्यस्तताले शुक्रबार आउन नसकेका जनप्रतिनिधिहरु भदौ २२ गतेभित्र निर्वाचन कार्यालयमा आएर सनाखत गर्ने उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *