राजनीति

प्रदेश २ मा काँग्रेसको वडा अधिवेशन हुन सकेन

धनुषा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडाअधिवेशन हुन सकेन ।

सातमध्ये छ वटा प्रदेशमा कांग्रेसको वडाअधिवेशन शुरु भइसके पनि प्रदेश २ मा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन शुरु हुन नसकेको हो ।

कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

कांग्रेसको निर्वाचन तालिका अनुसार भदौ १८ गते वडाअधिवेशन, २० गते पालिकास्तरीय अधिवेशन, असोज २ गते प्रदेश, ५ गते निर्वाचन क्षेत्र तथा १० गते जिल्ला अधिवेशन हुने कार्यतालिका छ ।

कांग्रेस धनुषाका सभापति गिरीकाअनुसार धनुषामा नविकरणसम्बन्धी विवाद नरहेपनि नयाँ सदस्यतासम्बन्धी विवाद रहेको छ । धनुषाको निर्वाचन क्षेत्र नं.१ र ४ को सदस्यता विवाद रहेको उनले बताए । गिरीले भने, “दुवै क्षेत्रको विवाद समाधान भए लगत्तै धनुषामा पनि वडाअधिवेशन छिट्टै शुरु हुनेछ।”

प्रदेश २ को आठ वटै जिल्लामा एक साताभित्रै वडाअधिवेशन हुने प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश २ कांग्रेस संसदीयदलका नेता रामसरोज यादवले जानकारी दिए । उनले प्रदेशभरिको क्रियाशिल सदस्यतासम्बन्धी विवाद समाधान गर्नका लागि प्रयास भइरहेको र चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *