समाचार

बाँदर आतंकले रित्तिँदै गाउँ

तेह्रथुम । छथर गाउँपालिकाका स्थानीयहरू बाँदरको समस्यालाई बसाइँ सर्न थालेका छन् । सुरुमा सुविधा खोज्दै स्थानीयहरु बसाइँ सर्न थालेपछि बाँदरले बालीनालीसमेत नष्ट गर्न थालेपछि बसाइँ सर्नेको संख्या बढ्न थालेको हो । समयसँगै मानवबस्ती पातलिँदै जाँदा बाँदरको आतंक बढ्न थालेपछि स्थानीयहरू बसाइँ सर्ने क्रम बढेको छथर २ का भीमबहादुर थापाले बताए ।

तमोर नदीसँगै जोडिएका बस्तीहरुमा बाँदरले अन्नबाली सखाप पार्न थालेको वर्षाैं भइसक्दा पनि समस्याको समाधानको निम्ति स्थानीय सरकारलेसमेत ध्यान नदिएको थापा गुनासो गर्छन् ।मेहेनत परिश्रम गरी उब्जाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि परिवार चलाउन नै मुस्किल परेपछि स्थानीयहरू बसाइँ सर्न थालेका हुन् । बाँदरसहित अन्य जंगली जनावरले पनि दुःख दिने गरेको स्थानीय शेरबहादुर कार्की बताउँछन् ।

बांदरले घरभित्र छिरेर मकै, कोदो, आलु, जस्ता अन्नपातहरुसमेत नस्ट गर्न थालेको उनको भनाइ छ । ‘जंगली जनावरका कारण सबै जमिन बाँझो भइसक्यो, लगाएको बाली पनि सखाप भयो, अब बसाइँ सर्ने तयारीमा छु’, थापाले भने ।

घरभित्र छिरेर अन्नपात, पकाएको खाना र भाडासमेत बोक्न थालेपछि गाउँभरी नै बाँदरको आतंक बढेको कर्णबहादुर लिम्बुले बताए । गतबर्ष मात्रै दर्जन बढी यहाँका स्थानीय बसाइँ गएका छन् । अझै बसाइँ सर्नेक्रम नरोकिएको स्थानीय बताउँछन् ।

गत वर्ष वासुुदेव भट्टराई, राजन भट्टराई, भीम थापा, भक्तबहादुुर कार्कीलगायत धेरै परिवार बसाइँ सरे । १० परिवार बसाइँ सर्ने तयारीमा छन् । छथर गाउँपालिकाको सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुंग, र आङदिममा बाँदर आतंक रहेको छ ।

किसानहरुको समस्यालाई समाधानको निम्ति छथर गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि आवाजजन्य सामाग्री परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष सन्तवीर लिम्बुले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *