न्यूयोर्क । अमेरिकामा आएको आइडा आँधीमा परि ज्यान गुमाउनेहरुको संख्या ४० पुगेको छ । देशको पूर्वोत्तर भागमा अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएको हो । अहिले न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा भइरहेको छ।
समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएको हो ।न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले मौसम विज्ञहरूको आलोचना गर्दै उनीहरूको पूर्वानुमान केही मिनेट भित्रै नराम्ररी गलत साबित भएको बताए ।
मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३।१५ इन्च पानी परेको उनले बताए ।
न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताएका छन् ।
अझै पनि केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्।
त्यहाँका बासिन्दाहरूले आफ्नो क्षतिको विवरण लिइरहेका छन्। न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध छ।कैयौँ उडानहरू रद्द भएका छन्।




