समाचार

गलेश्वर मन्दिरमा पित्तलको छाना

म्याग्दी । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो ।

वि.सं २०७७ फागुन १५ गते भएको कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना परिवर्तन गर्ने काम सकिएको कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले जानकारी दिएका छन्, “आपूर्तिकर्तासँग गत चैतमै सम्झौता गरे पनि निषेधाज्ञाका कारण पित्तलको पाटा ल्याउन नसकेपछि चार महिना काम हुन सकेन”, उनले भने, “ गत साउन अन्तिम सातादेखि सुरु भएको गलेश्वर मन्दिरको छानामा पित्तल राख्ने काम मङ्गलबार सकियो ।”

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा २० लाख रुपैया खर्चेर मन्दिर निर्माण गर्नुभएको थियो । कूल ३१ लाख ५० हजार रुपैया लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक स्रोतबाट २७ लाख रुपैया भन्दा बढी ब्यहोर्ने निर्णय भएको छ । यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन गरिँदै आएको थियो ।

अहिले छानोमाथि प्लाइउड र पित्तल राखिएको हो । पित्तलले छाएपछि आकर्षक देखिएको मन्दिर बलियो र टिकाउ हुने उनले बताएका छन् । छानो फेर्न कोषका कोषाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्वाधार निर्माण, पूजा व्यवस्थापन, संस्कृत विद्यालय, वृद्धाश्रम र तीर्थयात्री निवास सञ्चालन भएको छ । पछिल्लो दुई वर्षयता कोरोनाका कारण मन्दिरमा पूजाआजा नहुँदा आयस्रोत घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *