रामपुर । जितगढी युद्धको सम्भmनामा पाल्पामा ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । आज मनाइएको यो जात्रा २०३ औँ हो ।
नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकाल्ने गरिन्छ । नेपालमा मनाइने पुराना जात्राहरुमा यो पनि एक हो ।
हाल देशमा जारी रहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विगतका वर्षहरुमा जस्तो भव्य रुपमा नभई परम्परा र संस्कृति धान्नका लागि मात्रै आज यो जात्रा निकालिएको बताइएको छ ।
आज दिउँसो निजामती कर्मचारी, सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, पत्रकारलगायत सीमित व्यक्तिको उपस्थितिमा रथयात्रा निकालएको छ । यस पटक यो यात्रा मन्दिर परिषरमा मात्र सीति रहेको पनि आयोजकहरुले जनाएका छन् ।
आज दिउँसो १२ः३० बजेको साइतमा भगवतीको रथ उठाइएको थियो । वीरताको प्रतीकका रुपमा रहेको रणउजिरेश्वरी भगवतीको रथयात्रा गत वर्ष पनि कोरोना महामारीले सामान्य रुपमा नै मनाइयो ।
कोभिडको महामारी कायमै रहेकाले स्वास्थ्य सुरक्षालाई अपनाएर परम्परा र संस्कृति धान्नका निम्ति औचापरिकतामा जात्रा मनाउने तयारी गरिएको जानकारी यसअघि नै रणउजिरेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले बताए । उनका अनुसार जात्राको पूर्वसन्ध्यामा सोमबार साँझ ८ बजेबाट जात्रासम्बन्धी अनुष्ठान सुरु भएको र मङ्गलबार बिहान ११ः३० बजेसम्म मात्र भक्तजनलाई मन्दिरमा भगवतीको दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।




