काठमाडौं । महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी खोलेपछि आफ्ना कार्यकर्ता र जनप्रतिनिधि जोगाउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई धौ धौ परेको छ । सोही कारण अहिले उनी जिल्ला जिल्ला दौडिएका छन् । जसपामै बाबुराम भट्टराई पक्षले उपेन्द्रलाई असहयोग गरिरहेको अवस्था छ, अर्कोतिर महन्थ र राजेन्द्र महतोले आफ्ना कार्यकर्ता चोर्ने डर उनमा छ ।
निर्वाचन आयोगले जसपा र एमालेका जनप्रतिनिधिलाई दल छान्न २२ दिनसम्मको समयसीमा तोकेपछि त्यसबेलासम्म कसरी आफ्ना कार्यकर्ता जोगाउने भन्ने चिन्ता उपेन्द्रमा देखिएको छ । त्यही भएर अहिले उनी अधिकांश समय काठमाडौं बाहिरै रहने गरेका छन् । गठबन्धनको बैठकमा समेत उपस्थित हुन छाडेका छन् ।
जसपाका पूर्वअध्यक्ष महन्थ ठाकुरको समूहले नयाँ पार्टी बनाएपछि उपेन्द्र यादवलगायत नेता कार्यकर्ता जोगाउन राजनीतिक अभिमुखीकरण कार्यक्रमका नाममा कार्यकर्तामाझ पुगेका हुन् । यादव शुक्रबार जनकपुरको अभिमुखीकरण कार्यक्रममा सहभागी भएर शनिबार वीरगन्ज पुगेका थिए । जनकपुर जानुअघि उनले विराटनगरमा भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए । शनिबार वीरगन्जको नगरसभा गृहमा पर्सा, बारा, रौतहटलगायत जिल्लाका अगुवा कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
ठाकुर समूहले असंवैधानिक कदमको समर्थन गर्दै जसपा फुटाएको उनको भनाइ थियो । गन्धा विचार भएका स्वार्थी समूह बाहिरिएपछि पार्टी शुद्धीकरण भएको दाबी गरेका उपेन्द्रलाई लोसपाले आफ्ना नेता कार्यकर्ता धेरै लैजाने डर छ । उता, महन्थ पक्षले पनि प्रदेशगत रूपमा कार्यकर्ता भेला गरेर संगठन निर्माणलाई तीव्र बनाएको छ । महन्थ पक्षले जसपाबाट ३७ प्रतिशत हिस्सा लिएर लोसपा गठन गरेको थियो ।




