काठमाडौँ । तालिबानले अफगानिस्तानका पुर्व राष्ट्रपति हमिद कारजाई र वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लालाई घरमै नजरबन्दमा राखेको छ ।
सीएनएनको रिपोर्टका अनुसार तालिबानले कारजाई र अब्दुल्लाको सबै सुरक्षा हटाएको छ भने दुवै नेतालाई घरमै नजरबन्दमा राखेको उल्लेख गरिएको छ ।
यस अघि तालिबानका नेताहरुले कारजाई र अब्दुल्लासँग नयाँ सरकार गठनका बारेमा छलफल गरेपनि अहिले उनीहरुलाई नजरबन्द गरेको बताइएको छ । वरिष्ठ नेता अब्दुल्ला अमेरिका र तालिबानलाई वार्ता गराउन मध्यस्तता गर्ने प्रमुख व्यक्ति हुन् । तालिबानले अब्दुल्लाको घरमा समेत छापा बारेको र उनको सुरक्षामा प्रयोग भएका गाडीहरु पनि नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।
यस रिपोर्ट बारे तालिबानले भने स्पष्ट गरेको छैन ।




