काठमाडौं । नेपाली कांग्रेस बैतडी जिल्लाका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग गत शुक्रबार भेट गरेका छन् । भेटमा उनीहरुले समग्र बैतडीको विकासका लागि भन्दै २९ वटा माग प्रस्तुत गरे । महासमिति सदस्य उत्तरबहादुर ऐरका अनुसार नेपाली कांग्रेस बैतडी जिल्लाका विभिन्न तहका २१ नेता तथा कार्यकर्ताले प्रधानमन्त्री देउवासँग भेट गरी जिल्लाको समग्र विकासका २९ वटा योजनाबारे ध्यानाकर्षण गराएका छन् ।

प्राकृति तथा सांस्कृतिक वैभवले सम्पन्न बैतडी जिल्ला भौतिक विकासका दृष्टिले निकै पछाडि परेको छ । करिब चार दशकपूर्वसम्म सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाहरुको साथै कर्णाली प्रदेशका धेरैजसो पहाडी र हिमाली जिल्लाका बासिन्दा भारत आवागमनको बाटो पर्ने यो जिल्लामा पूर्वाधारको अपेक्षित विकास र रोजगारका अवसरहरुको कमीले गर्दा जिल्लाबाट तराईतर्फ बसाई सर्नेक्रम बढ्दो रुपमा देखिन्छ । मानव संशाधनको विकास र बसोबासको लागि आवश्यक पूर्वाधार नहुँदासम्म जिल्लाबाट अन्य पलायन हुने प्रवृत्ति नियन्त्रण गर्न सकिँदैन भन्दै उनीहरुले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
महासमिति सदस्य ऐरका अनुसार जिल्लामा नै बसोबास गर्ने जनताको साथै बाहिर रहेका जनशक्तिलाई जिल्लामा नै फर्कने अवस्था सिर्जना गर्न ग्रामीण क्षेत्रको विकास अपरिहार्य छ । यस्तै किसिमले स्वास्थ्य उपचार, शिक्षा, संस्कृतिको सम्बद्र्धन पनि उत्तिकै आवश्यक छ । यस सन्दर्भमा प्रधानमन्त्री देउवालाई बैतडेली समाजका जल्दाबल्दा समस्याप्रति ध्यानाकृष्ट गराइएको हो ।
पश्चिम सेती जलविद्युत आयोजना तामाकोशी मोडलमा सञ्चालन हुनुपर्ने, पञ्चेश्वर जलविद्युत आयोजनाको प्रभावकारी सञ्चालनको लागि सक्रियतापूर्वक गतिशील हुनुपर्ने, महाकाली करिडोर कञ्चनपुर ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी, दार्चुला तिंकरसम्मको ट्रयाक खोल्ने र कालापत्रेको लागि एडीबी विश्व बैंकलगायत दातृ निकायको सहयोगमा पूँजी व्यवस्था गर्नुपर्नेलगायतका माग बैतडीका नेताहरुले प्रधानमन्त्री देउवासमक्ष राखेका थिए ।
यसैगरी बैतडीका किसानहरु केरा खेती, सुन्तला, कागती, मौसम (जुनार) मा लाग्ने रोगबाट अति नै पीडित रहेको हुँदा त्यसको निदानका लागि सम्बन्धि क्षेत्रलाई निर्देशन र व्यवस्थापन गर्न आग्रह गरिएको छ भने नेपाल सरकारको सुरुको १० वटा नमूना सहरमध्येको बैतडी पाटन नमूना सहरको निर्माण कार्य अत्यन्त सुस्त रहेको सो कार्यलाई तीब्र रुपमा अगाडि बढाउनपर्नु माग प्रधानमन्त्री देउवासमक्ष राखिएको थियो ।







