समाचार

झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

इलाम । इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको मुहानमा उक्त झरना छ । झरनामा नुहाउन र रमाइलो गर्न झापा र इलामबाट दिनहुँ सयौँ आन्तरिक पर्यटक ओइरिन थालेका छन् । यसबाट पिउने पानी धमिलिएको उपभोक्ताको आरोप छ ।

पानीको मुहानमा आन्तरिक पर्यटक रमाउने नाममा फोहरमैला गरिदिँदा उपभोक्ता दूषित पानी पिउन बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताए ।

उनले मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी आयोजनाको मुहान भनेकै त्यही झरना हो । मुहान दूषित हुँदा तीन हजार उपभोक्ता शुद्ध पिउने पानीबाट बञ्चित हुने अध्यक्ष अधिकारीको भनाइ छ । उनले फोहरमैला नहुने गरी तत्काल सो स्थानमा आउने आन्तरिक पर्यटकलाई व्यवस्थित गर्न नगरपालिकासँँग माग गरेका छन् ।

वडा नं १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ खानेपानी आयोजना सञ्चालित छन् । नन्दा खानेपानी समितिका अध्यक्ष इन्द्र ढकालले पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा खानेपानीको विकराल समस्या पैदा हुने बताए ।

स्थानीयवासीले मुहान धमिलिएको भन्दै झरनामा भीड रोक्न माग गरेपछि मेचीनगरका नगर प्रमुख विमल आचार्यले सो क्षेत्रको अनुगमन गरेका छन् । पर्यटन क्षेत्रको विकाससँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा आचार्यले स्थानीय सरकार सक्रियरुपमा लाग्ने जानकारी दिए।

पहिलो प्राथमिकता खानेपानी भएको भन्दै उनले मुहान सफा राख्न सोही स्थानमा डस्वीन राखेर पर्यटकलाई सूचित गरिने विकल्पका बारेमा पनि सोचिरहेको बताए। पर्यटकीय क्षेत्रका रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगी झरनाको उचित व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरिने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *