विश्व

अमेरिकी चेतावनीः ‘आईएसको आक्रमण हुनसक्छ, सचेत रहनु’

एजेन्सी । अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने अमेरिकाले चेतावनी दिएको छ । शनिबार सुरक्षा चेतावनी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन सचेत गराएको हो ।

आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले आक्रमण गर्ने दिए, नदिएको बारे पनि केही खुलाइएको छैन ।

तर अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई ‘ढोका बाहिर हुन सक्ने सुरक्षा खतरा’ बाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको छ । अमेरिकी अधिकारीहरुले अफगानिस्तानको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

राजधानी काबुलस्थित विमानस्थल बाहिर आतंक जारी रहेका बेला अमेरिकाले सम्भावित आक्रमणको खतराबारे जानकारी गराएको हो । विमानस्थलबाहिर एक जर्मन नागरिकमाथि गोली प्रहार भएको थियो । अमेरिकाले विमानस्थलबाहिरको भिडभाडमा नजान भनेको छ ।

एक हप्ता अगाडि तालिबान विद्रोहीले राजधानी काबुलसहित पूरै अफगानिस्तानमा कब्जा जमाएका थिए । त्यसलगत्तै काबुल छाड्नेहरुको भिड विमानस्थल वरपर देखिन्छ । विमानस्थलको भित्री परिसरमा भने अमेरिकी सेनाको नियन्त्रण कायमै छ ।

अमेरिकाले अफगानी विमानस्थलबाट हालसम्म १७ हजार मानिसलाई उद्धार गरिसकेको र तीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक पनि रहेको त्यहाँको रक्षा विभागलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *