राजनीति

मेटमणि चौधरीको दाबी– दोस्रो तहका सबै नेता ५ दिनभित्र समाजवादीमा आउँछन्

काठमाडौं । प्रस्तावित नेकपा एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले आगामी ५ दिनभित्र दोस्रो पुुस्ताका सबै नेताहरु आउने दाबी गरेका छन् ।

काठमाडौमा भएको एउटा कार्यक्रममा सांसद समेत रहेका नेता चौधरीले एमालेको दोस्रो तहका सबै नेताहरु समाजवादी दलमा आउने दाबी गरेका हुन् । उनले भने,‘पाँच दिनभित्र सबै जना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ ।’

एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश भइसकेको छ भने निर्वाचन आयोगले एमालेबाट आएका केन्द्रीय सदस्यको सनाखत गर्न भदौ ९ गते बोलाएको छ ।

नेपाल पक्षका नेताहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत एमाले एकताको प्रयास गर्ने भन्दै कुनै पनि समुहमा नलागेको बताएका छन् ।

तर उनीहरुले समेत अध्यक्ष केपी शर्मा ओलीलाई आगामी मंगलबारसम्म एकताको सार्थक पहल नगरे विद्रोह गर्ने चेतावनी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *