काठमाडौं । अमेरिकाले अफगानिस्तानमा रहेक ओआफ्नो दुताबास बन्द गर्ने निर्णय गरेपनि चीन, रुस र पाकिस्तानले भने बन्द नगर्ने बताएका छन् ।
अमेरिकाले आफ्नो दुताबासबाट झन्डा समेत निकालेर सबै कर्मचारीको उद्धार समेत गरिसकेको छ ।
तर चीन, रुस, टर्की र पाकिस्तानले भने आफ्नो दुताबास बन्द गरेका छैनन् । रुसले दुताबास बन्द नगर्ने संकेत दिएको छ भने चीनले आफ्ना नागरिकलाई घर भित्र नै बस्न चेतावनी दिदै स्थितिमाथि नजर राख्न आग्रह गरेको छ ।
रुसी विदेश मन्त्रालयले आइतबार अफगानिस्तान बाट आफ्ना नागरिक या दुताबासका कर्मचारीलाई निकाल्ने कुनै योजना नभएको बताएको थियो ।
त्यस्तै अघिल्लो महिना जुलाईमा तालिबानका प्रतिनिधिहरुले चीनको बेइजिंग पुगेर विदेशमन्त्रीसँग भेट वार्ता समेत गरेका थिए । त्यति बेला चीनले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको थियो ।
मिडिया रिपोर्टका अनुसार रुस र चीनले तालिबान सरकारलाई समर्थन गर्ने संकेत दिएको बताइएको छ । रुस र चीनले तालिबान सरकारलाई सिधै समर्थन नगरेपनि कडा विरोध नगर्ने रणनीतिमा रहेको विश्लेषण गरिएको छ ।
त्यस्तै पाकिस्तानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै काबुलस्थित आफ्नो दुताबासले काम जारी राखेको बताएको थियो । त्यस्तै टर्कीले पनि काबुलस्थित दुताबासमा काम जारी राख्ने बताएको छ ।




