काठमाडौं । तालिबानले देश कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलमा देश छोड्नेको लर्को लागेको छ।
सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ ।
कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढिरहेका छन् । भिड अनियन्त्रित भएपछि सोमबार बिहान विमानस्थल नियन्त्रणमा लिएको अमेरिकी सेनाले हवाई फायर गरेको छ।
अमेरिकी सेनाले सुरक्षा दिइरहेको सो विमानस्थलमा अहिले सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । आफ्ना राजदूत, कर्मचारी, नागरिक र अन्य विदेशीलाई काबुलबाट बाहिर जान सघाउने उद्देश्यले अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो। विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही राउन्ड हवाई फायर गरिएको एएफपीले जनाएको छ।




