विश्व

अफगानिस्तानमा यो वर्षमात्र करिब चार लाख नागरिक विस्थापित

अफगानिस्तान । संयुक्त राष्ट्रसंघले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ ।

संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेको जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरु आएसँगै तालिबानीले यहाँका विभिन्न शहरमा कब्जा जमाउन थालेको भन्ने समाचार बाहिर आइरहेका छन् ।

जसका कारण यहाँ दिन प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकोले उनीहरु भाग्न बाध्य भएका छन् ।

यो वर्षमात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरु देशभित्रै आन्तरिक शरणार्थीरुपमा बस्न बाध्य भएका छन् ।

अहिले यहाँका विस्थापित नागरिकहरु आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् ।

यहाँ कतिपय सहायता एजेन्सीले उनीहरुलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो संख्यामा विस्थापित भएर विभिन्न शहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि यहाँको सरकारी सेना र तालिबानबीचमा भीषण संघर्ष जारी रहेको बताइएको छ ।

जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँ घाइते भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *