राजनीति

देउवा निकट जिल्ला सभापतिको बैठक ६ बुँदे निष्कर्ष निकाल्दै सकियो

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको बैठक सकिएको छ । ललितपुरको समीट होटलमा आज बिहान बसेको बैठकले ६ बुँदे सुझाव तयार पार्दै अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको छ ।

त्यसमा अहिले महाधिवेशन गर्न नसकिने प्रमुख निष्कर्ष रहेको ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले जानकारी दिए ।

भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उनले जानकारी दिए । उनका अनुसार अहिले केहीबेरपछि भेलाले तयार पारेको निष्कर्ष सभापति देउवालाई बुझाइनेछ ।

यस्तो छ देउवा पक्षीय सभापतिहरुको बैठकले गरेका निर्णय :

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भौतिक र भर्चुअल माध्यमवाट २०७८ श्रावण २७ र २८ गते नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सभापति मदनबहादुर अमात्यको सभापतित्वमा दुईदिने छलफल कार्यक्रम आयोजना गरियो। सो छलफलको निष्कर्ष नेपाली कांग्रेसका आदरणीय केन्द्रीय सभापतिमार्फत् तथा केन्द्रीय सदस्यहरुलाई ध्यानाकर्षण सहितको ८ बुँदे आग्रह :

१. गत आम निर्वाचनमा प्रतिनिधि सभाका देशका कूल १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस जम्मा २३ सिटमा विजयी भएको र समानुपातिक समेत गरी जम्मा २७५ मध्ये ६३ सीटमा हाम्रो पार्टी विजयी भएको सर्वविदितै छ। साथै, त्यतिबेला सात प्रदेशमध्ये एउटामा समेत हामीले सरकार बनाउन सक्ने गरी निवार्चन जिल सकेनौं। हामी सबैतिर प्रतिपक्षमा रहन बाध्य हुनुपर्‍यो।
प्रदेश २ बाहेक अरु सबै प्रदेश र संघमा तत्कालीन नेकपाले बहुमतसहित सरकार बनायो भने प्रदेश २ मा मधेशवादी दलले सरकार बनाए। त्यतिबेला नेकपाका नेताहरु अबको ५० वर्ष नेपाली कांग्रेस सरकारबाट बाहिर बस्छ भनी हाम्रो खिसीटिउरी गर्थे भने संसद्‌मै पनि तत्कालीन प्रधानमन्त्रीले हामीलाई ुनिम्छरोु जस्ता शब्द प्रयोग गर्थे।
तर, नेपाली कांग्रेसका श्रद्धेय सभापति श्री शेरबहादुर देउवाको राजनीतिक सुझबुझ र धैर्यताले चुनावको ४० महिनापछि नै ६३ सांसद भएको नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतिबाट १६५ सांसदको भारी बहुमतसहित सरकारको नेतृत्व गर्न पुगेको छ। यस्तो महान कार्यका कारण आम कांग्रेसका साथीहरु अत्यन्त खुशी मात्र छैनन्, उनीहरुमा लोकतन्त्रप्रति प्रतिवद्ध हाम्रो पार्टी र आदरणीय सभापतिले जुन आसाको किरण देखाउनु भएको छ त्यसप्रति धन्य भएका छौं। त्यति मात्र नभई आदरणीय सभापतिज्यू कै राजनैतिक सुझबुझ, धैर्यता र समयानुकुल निर्णयका कारण अहिले हामी प्रदेश २ सरकारमा सामेल भएका छौं। गण्डकी प्रदेशमा हाम्रो नेतृत्व सरकार बनेको छ लुम्बिनी प्रदेशमा एक दुई दिनमै हामी सरकारमा सामेल हुँदैछौं। कर्णाली प्रदेश सरकारमा हाम्रो सहभागिता छ भने सुदूरपश्चिम सरकार समेत हाम्रो सहमतिमा टिकेको छ। आशा गरौं, अब बाँकी प्रदेश १ र बागमती प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने सम्भावना छ। यो भन्दा ठूलो राजनीति सफलता के हुन सक्ला ?
हामी जिल्ला सभापतिहरु यस्तो महान कार्यका लागि आदरणीय सभापतिज्यूलगायत यो कार्यमा संलग्न सबैमा बधाई तथा धन्यवाद व्यक्त गर्दै नेपाली कांग्रेसको सरकारको कार्यकालको सफलताको लागि शुभकामना समेत व्यक्त गर्न चाहान्छौं।
२. यसरी शून्यबाट माथि उठाएर यहाँसम्म पार्टीलाई ल्याउँदा र सबैले सभापतिज्यूको राजनैतिक सुझबुझको प्रशंसा गरिरहँदा समेत आफनै पार्टीभित्रका केही शीर्ष नेताहरुबाट सभापतिको आलोचना भएको देख्न सुन्न पर्दा हामीलाई दुःख लागेको छ। यस्ता अभिव्यक्तिले एकातिर आम पार्टीका साथीहरुमा निराशा पैदा गर्दछ भने अर्कोतिर अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ भन्ने हाम्रो ठम्म्याई छ। हामी यस्ता कृयाकलाप नगर्न सबैमा सविनय अनुरोध गर्न चाहन्छौं।
३. हामी महाधिवेशनको पूर्वसन्ध्यामा छौं। महाधिवेशन समयमै र विधिसम्मत हुनुपर्नेमा कसैको विमति छैन। तरपनि कारोनाको महामारी, सबैमा खोप नपुगेको अवस्था र केही आन्तरिक प्राविधिक कारणले महाधिवेशन समयमै नहुने हो कि भन्ने शंका बढ्न स्वभाविकै छ। हामी आजको केन्द्रीय समितिको बैठक सहमति, लोकतान्त्रिक विधि, कानन र संविधानसँग नबाझिने गरी महाधिवेशन कसरी गर्ने भन्नेमा केन्द्रित होस् भन्ने अनुरोध गर्न चाहान्छौं।
४.हाम्रो विधानले पालिका कार्यसमिति सो पालिकाभित्र रहेका सबै क्रियाशील सदस्यबाट चयन गर्ने व्यवस्था गरिएकोमा आज कोरोनाको कहर चलिरहँदा त्यो व्यवस्थालाई प्रतिनिधिमुलक बनाउन सके एकै स्थानमा धेरै मानिस जम्मा हुन पर्ने थिएन। त्यसतर्फ जान हामी केन्द्रीय समितिलाई अनुरोध गर्न चाहन्छौं।
५. अरु पार्टीबाट नेपाली कांग्रेसमा आएका सदस्यहरुको समायोजनका सम्बन्धमा वडादेखि सबै तहबाट स्वीकृत भई आएको र काम सकिएको फाइल फेरि खोल्नपर्छ भनी बखेडा झिक्नु महाधिवेशन हुन नदिने बहाना मात्रै हो। यसलाई नउचाल्न हामी सबैमा अनुरोध गर्न चाहन्छौं।
६. छानबिन समितिले टुंगो लगाएको क्रियाशील फाइल बाहेक विवादमा आएका बारा, सप्तरी लगायतका जिल्लाहरुको फाइल मात्र खोली विधानसम्मत निर्णय गरियोस् भन्ने अनुरोध गर्दछौं।
७. यदाकदा आज आएर शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद् हो। आजको आवश्यकता महाधिवेशन हो। विशेष महाधिवेशन स्वीकार्य छैन।
८. महाधिवेशन हामी कांग्रेसहरुको महान पर्व हो। यस महान उत्सवको सम्मान गर्दै लामो इतिहास बोकेको पार्टीको गौरवलाई भावनात्मक एकाताका साथ सुसम्पन्न गर्न सादर अनुरोध गर्दछौं।
जय नेपाल ।
श्रावण २८, काठमाडौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *