काठमाडौँ । इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै चेल्सी सुपर कप च्याम्पियन बनेको हो ।
खेलको निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा धकेलिएको थियो । खेलको २७ औं मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा भिल्लारियलका जेरार्ड मोरेनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटतर्फ लम्बिएको थियो ।
पेनाल्टी सुटआउटमा चेल्सीका लागि सेसर एज्पिलिक्वेटा, मार्कोस अलन्सो, मासन माउन्ट, जर्गिन्हो, क्रिस्टियन पुलिसिस र एन्टेनियो रुडिगरले गोल गरे तर, काई हाभर्टजको प्रहारलाई भने भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले बचाए । त्यस्तै, भिल्लारियलका लागि जेरार्ड मोरेनो, पेर्भिस स्टुपिनान, मोइ गोमेज, ड्यानियल रावा र जुआन फोयथले गोल गरे । राहुल अल्विओल र एइसा मान्दीको प्रहार भने सब्सिच्युट गोलरक्षक केपा एरिजाबालगाले रोके ।
सुपर कपको उपाधिका लागि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले खेलेका हुन् । गत सिजन चेल्सीले सिटीलाई हराउँदै च्याम्पियन्स लिग जितेको थियो भने भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै युरोपा लिगको उपाधि चुमेको थियो ।




