काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेकोमा कुनै पछुतो नरहेको बताएका छन् ।
ह्वाइटहाउसमा पत्रकारहरुसंग कुराकानी गर्दै राष्ट्रपति बाइडेनले २० बर्ष अफगानिस्तानमा रहेर आफ्ना सैनिक अहिले फर्काउने निर्णय गरेकोप्रति कुनै पछुतो नरहेको बताएका हुन् ।
बाइडेनले अफगानिस्तानका नेताहरुलाई एक हुन आग्रह गर्दै आफ्नो देशको लागि लड्न अपिल समेत गरेका छन् ।
उनेल अमेरिका अफगानिस्तानलाई गरेका प्रतिबद्धताप्रति अहिले पनि अडिग रहेको भन्दै आवश्यक सहयोग जारी नै रहेको बताएका छन् । अमेरिकाले अहिले अफगानिस्तानका सैनिकहरुलाई हवाई सहयोग, सेनाको पारिश्रमिक, सेनका उपकरणहरुमा सहयोग गरिरहेको छ ।
राष्ट्रपति बाइडेनले भने- ‘ उनीहरुले आफ्नै लागि लड्नुपर्छ ।’
अमेरिकाले आफूसहित नेटो सैनिक अफगानिस्तानबाट फिर्ता गराउने निर्णय गरेसँगै अहिलेसम्म तालिबानले कम्तिमा ८ प्रान्तीय राजधानी कब्जा गरिसकेको बताइएको छ । हरेक दिन तालिबान र अफगान सैनिकबीच भिषण लडाई भैरहेको मिडिया रिपोर्टमा उल्लेख छ । त्यस्तै तालिबानले अधिकांश ग्रामिण इलाका कब्जा गरिसकेको र अहिले शहर केन्द्रित आक्रमण गरिरहेको बताइएको छ ।




