काठमाडौं । जेलमा रहेका रेशम चौधरी तत्काल रिहा नभए भूमिगत आन्दोलन गर्ने थारु अगुवाहरुले चेतावनी दिएका छन् । थरूहट थारुवान राष्ट्रिय मोर्चाले ‘टीकापुर थरूहट थारुवान विद्रोहको ६ वर्ष’ विषयमा आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै थरूहटका अगुवाहरुले यस्तो बताएका हुन् ।
रेशमको नाममा राजनीति भएको भन्दै रेशम चौधरी रिहाइ अभियानमा लागेका सुरेन्द्र चौधरीले आक्रोश पोखे । ‘टीकापुर घटनाले गर्दा रेशम चौधरी जेलमा हुनुहुन्छ तर बाहिर उहाँको नाममा राजनीतिक भइरहेको छ’, उनले भने ।
जसपाको महन्थ ठाकुर पक्षले रेशम चौधरीको एजेण्डा बोकेर तत्कालीन केपी ओली सरकारमा सहभागी भए पनि कुनै उपलब्धी हुन नसकेको उनको भनाई थियो ।
निर्वाचन आयोग जसपा नेपालको आधिकारिकताको मतदान हुँदा रेशम चौधरीको तानातान हुँदा आफूलाई आश्चर्य लागेको पनि उनले सुनाए ।
थारुहरुले शान्तिपूर्ण तरिकाले आफ्नो अधिकार लिन चाहेको भन्दै उनले चौधरीलाई नछाडिए थारु युवाहरु भूमिगत आन्दोलन गर्न तयार रहेको उनले चेतावनी समेत दिएका दिएका छन् । ‘हामी शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छौं, तर रेशम चौधरीलाई छाडिएन भने अर्को तरिकाको आन्दोलन गर्न पनि तयार छौं’, उनले भने ।
यस्तै थारु अगुवा चन्दन चौधरीले टीकापुर आन्दोलनलाई धेरै नेताले प्रयोगमा ल्याएको बताए । ‘संसदमा थुप्रै थारु छन्, मन्त्रीहरु पनि थिए तर थारुको बारेमा कसैले केही बोलेनन्, बरु एमसीसीको बारेमा बोले, अन्य विषयहरु उठाए तर थारुको मुद्दाबारे, रेशम चौधरीको रिहाइ बारेमा बोलेनन् ।’
थरूहट थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६–७ गते विद्रोह दिवस मनाउने घोषणा गरिएको छ ।




