समाचार

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

काठमाडौं । चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्कामार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ ।

नेपाली कांग्रेसका नेता दीपक खड्काका नेतृत्वमा गएको सङ्खुवासभावासी प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गरी चाँडो कोरोना खोपको सुनिश्चितता प्रदान गर्न आग्रह गरेका हो ।

“सङ्खुवासभाका सबै स्थानीय तहका जनताले कोरोना खोप प्राप्त गर्नुपर्छ, किमाथाङ्काबाट कोरोना खोप ल्याउन लाग्ने हेलिकोप्टर ढुवानी म आफैँ बेहोर्छु”, उनले भने ।

नेता खड्काले दुवै चरणको खोप लगाएका जनतालाई निर्वाधरूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न, कोरोनाको बहाना देखाएर बन्द रहेका सबै सरकारी कार्यालयका कर्मचारीलाई खोप प्रदान गरेर सञ्चालन गर्न र दुवैमात्रा खोप लगाएका पर्यटकलाई निर्वाधरूपमा मुलुकमा घुम्ने वातावरण निर्माण गर्न आग्रहसमेत गरे ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार तेस्रो चरणको कोरोना महामारीका बारेमा सचेत रहेको र यसका लागि आवश्यक गृहकार्य थालिसकेको जानकारी दिए । उनले पाँच करोड २२ लाख डोज खोप सुनिश्चित गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *