हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ । बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डीएफआईडीले ट्रयाक खोल्ने काम सम्पन्न गरे पनि हुम्ला चंखेली गाउँपालिकाको कर्णाली नदीमा पुल निर्माण कार्यमा ढिलाइ भएको हो ।
ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डीएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । सडक निर्माण भएपनि कर्णाली नदीमा पुल नहुँदा स्थानीय तुइनबाट आवतजावत गर्न बााध्य छन ।
कर्णाली नदीमा पुल नभएपछि घट्टाचौर स्थानीय सुरजन शाहीले व्यत्तिगत लगानीबाट तुइन निर्माण गरेको जानकारी दिए । पुल निर्माण नहुँदा ३ लाख लगानीमा तुइन बनाइएको शाहीले बताए ।
तुइन विस्थापित गरेर पुल बनाउने घोषणा त गफमा मात्र सीमित भएको स्थानीयको गुनासो छ । तुइनबाट सामान वारपार गर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कधन तामाङले बताए । कर्णाली नदीमा पुल निर्माण नहुँदा सामान वारपार गर्न समस्या भएको स्थानीयहरूले बताएका छन ।
दुई जिल्ला जोड्ने लिंक रोड निर्माण पश्चात ग्रामिण भेगका नागरिकहरुलाई आवत–जावत गर्न सहज चाहिँ भएको छ ।




