विश्व

विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास

काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि सुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल संक्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस संक्रमित भइसकेका छन् । कोरोना भाइरसको संक्रमितको यो संख्या विश्वको जनसंख्याको २.५ प्रतिशतभन्दा बढी हो ।

जति समय बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आँकलन सुरुमा गरिएको थियो । पहिलो वेभकै समयमा गत वर्ष नै विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्ले दोस्रो या तेस्रो वेभको कल्पना पनि गरेका थिएनन् । तर, परिस्थिति त्यस्तो रहेन । अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःसुरु भएको छ । अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो कि भन्ने दिशातिर गएकोमा अहिले फेरि संक्रमित बढ्न थालेका छन् । केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन् ।

यसरी पछिल्ला केही महिनामा फेरि बढ्दोरुपमा देखिन थालेको यो महामारीको कहरले विश्वको अर्थतन्त्रलगायत मानवीय जीवनशैलीलाई नै नराम्ररी परिवर्तन गरिदिएको छ । विश्वका देशले उडान प्रतिबन्ध लगाएका छन् । जसका कारण विश्व पर्यटन नराम्ररी प्रभावित छ । त्यस्तै होटल, एयरलाइन्स तथा अरु पर्यटकीय संरचनाको अवस्था कल्पनाभन्दा बाहिर पुगेको छ । विश्वका मानिस पर्यटकका रुपमा घर बाहिर या विदेशमा निस्किन नपाएपछि यसबाट असर त पर्ने ने भयो ।

अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार यस भाइरसको एउटा मात्र विकल्प खोप हो । हाल विश्वको जनसंख्या सात अर्ब ८७ करोडभन्दा बढी छ । चार अर्ब १५ करोड आठ लाख १५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अरु बाँकी अर्थात् आधा विश्वले त अझै खोप लगाउनै बाँकी छ । खोपको समानुपातिक वितरण हुनसकेको छैन । यसले गर्दा विश्वमा खोपको कतै धेरै मात्रा थुप्रिएको सुनिन्छ भने कतैका नागरिकले पहिलो मात्रा लगाइसकेका तर दोस्रो मात्रा नपाएर पर्खिबसेका छन् । यतिमात्र होइन कि धेरैले त पहिलो मात्रा नै पाएका छैनन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख ४६ हजार २ सय २ जनाको कोरोनाजन्य जटिलताबाट मात्र मृत्यु भएको छ । यसबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । महामारी नै अझै कहिले रोकिने भन्ने पत्तो छैन र एकपछि अर्कोगरी विभिन्न भेरिएन्ट दिनानुदिन थपिँदै गएका बताइन्छ । यस्तो अवस्थामा कुनै एक या दुई देशमात्र होइन कि विश्व नै यो महामारीबाट कसरी बाहिर निस्किने हो भन्ने विषय नै झन्भन्दा झन् अन्यौलमा पर्दैछ ।

विश्वमा यस्ता महामारीजन्य रोग यसअघि पनि नआएको भने होइन । सन् १९१८ मा सुरु भएको इन्फ्लुएन्जा माहामारीलाई इतिहासकै गम्भीर माहामारीको रुपमा लिइएको छ । यो माहामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट ५० करोड व्यक्ति संक्रमित भएका थिए भने यस रोगको संक्रमणको कारण पाँच करोड व्यक्तिको मृत्यु भएको थियो ।

सो संक्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाइ थियो । यस फ्लुले अमेरिकामा मात्र छ लाख ७५ हजार भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । सन् १९१८ मा सुरु भएको यो प्रकोप सन् १९२० मा मात्र अन्त्य भएको थियो । यो भाइरसको उत्पत्ति कहाँ भएको हो भने प्रष्ट हुन सकेन । सन् १९१८ को बसन्त ऋतुमा पहिलो पटक एक अमेरिकी सैनिकमा उक्त भाइरस फेला परेको थियो ।

यस्तै सन् २००९ मा स्वाइन फ्लु नामक माहामारी सुरु भएको थियो । स्वाइन फ्लु सन् २००९ जनवरीबाट सुरु भई सन् २०१० को अगस्तमा अन्त्य भएको थियो । यस फ्लुको सुरुवात उत्तरी अमेरिकी देश मेक्सिको र भेराक्रुज भएको थियो । यस फ्लुबाट चार लाख ९१ हजार संक्रमण पुष्टि भएको थियो भने दुई लाख ८४ हजारको मृत्यु भएको थियो । सन् १६६५ मा द ग्रेट प्लेग माहामारी सुरु भएको यो सन् १६६५ बाट १६६६ सम्म माहामारीको रुपमा रहेको थियो यसको सुरुवात संयुक्त अधिराज्य लण्डनबाट सुरु भएको थियो । यस प्रकोपबाट ७५ हजार व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी पश्चिम अफ्रिकी देशमा भने अर्को एक खतरनाक भाइरस इबोलाको महामारी सुरु भएको थियो । यस भाइरसको सुरुवात सन् २०१३ को डिसेम्बर २६ बाट भएको थियो । यो माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो । यस प्रकोपबाट ११ हजार ३ सय २३ व्यक्तिको मृत्यु भएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयले अगस्त ३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यहाँ ग्राफिक्समा प्रस्तुत गरिएको छ । यो तथ्याङ्क नेपाली समयानुसार मंगलबार बिहान १०ः३० बजेको हो ।

बिभिन्न अध्ययनले हाल विश्वमा कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिको मृत्यु दर कम भएको देखाएको छ । एक डोज मात्र खोप लगाएका व्यक्ति पनि खोप नलगाएका व्यक्तिको तुलनामा मृत्युको मुखबाट बचेका छन् । हाल विश्वका चार अर्ब १५ करोड आठ लाख १५ हजार ७ सय १६ डोज खोप लगाइएको छ । विश्वमा कोरोना प्रभावित दश देशले कतिकति डोप खोप लगाएका दश देशको तथ्याङ् हेर्दा सबैभन्दा माथि चीन नै देखिन्छ । चीनले अहिलेसम्म एक अर्व ६८ करोड ८६ लाख ८३ हजार डोज खोप लगाएको देखिएको छ ।

त्यसैगरी भारतले ४८ करोड ५२ लाख ८६ हजार ८६ डोज, अमेरिकाले ३४ करोड ६१ लाख ९१ हजार १ सय १७ डोज, ब्राजिल १३ करोड ५८ लाख तीन हजार ३ सय ३० डोज, जर्मनी नौ करोड २७ लाख ६ सय ६८ हजार ७ सय ८७ डोज, बेलायत आठ करोड ६० लाख ६२ हजार १ सय ३५ डोज, जापान आठ करोड ९१ लाख ११ हजार ९ सय ८९ डोज, फ्रान्स सात करोड ४८ लाख ५४ हजार ८ सय ३४ डोज, टर्की सात करोड ४० लाख ८९ हजार ८ सय ३४ डोज र इटालीले छ करोड ९६ लाख ६३ हजार २ सय ४३ डोज कोरोनाविरुद्ध खोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *