काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको बताएको छ ।
एन्फाका प्रवक्ता किरण राईले उनको राजीनामा अहिलेसम्म आधिकारिक रुपमा नआएको जानकारी दिए । सामाजिक सञ्जालमा घोषणा गरिएको राजीनामा एन्फाभित्रको विवादका कारण नभएको उनको दावी छ ।
उनले राजीनामा घोषणालाई सामान्य असमझदारीका कारण भएको हुनसक्ने टिप्पणी गरेका छन् । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिनुपरेको घोषणा गरेका छन् ।
अहिले अल्मुताइरी तनावमा रहेकाले आराम गर्न भनेको राईले बताए । तर, नेम्वाङले भने पछिल्लो समय अल्मुताइरीसँग आफ्नो संवाद नै नभएको भन्दै यसको खण्डन गरेका छन् ।




