संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–८ मा गाई काटेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विक रहेका छन् ।
उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उनको भनाइ छ ।
तामाङको घरबाट ३०० मिटर पूर्वमा रहेको खोला किनारबाट गाई काटिरेहको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। अन्य दुईजना फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पक्राउ परेकामाथि गौवधसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। गौवधसम्बन्धी मुद्दामा तीन वर्षसम्म कैद हुन कानुनी ब्यवस्था रहेको प्रहरीले जनाएको छ।




