काठमाडौं । दुई दिनदेखिको लगातारको वर्षाले पूर्वी चितवन जलमग्न भएको छ । जिल्लाको पूर्वी सिमाना लोथर खोलादेखि रत्ननगर नगरपालिकासम्मका विभिन्न क्षेत्र डुबानमा परेको हो।
राप्ती नगरपालिकाकी मेयर प्रभा बरालका अनुसार सबैभन्दा बढी लोथर खोला, पम्पा खोलाले असर पारेको छ। केही साना खहरे खोलाले पनि विभिन्न क्षेत्रलाई डुबानसँगै जोखिममा पारेको उनले बताइन्।
वडा नम्बर ६, ७ र ८ को पूर्वपश्चिम राजमार्गबाट दक्षिण क्षेत्र डुबानमा परिसकेका छन्। खहरे खोलाहरुले वडा नम्बर ८ र ९ लाई डुबाएको उनको भनाइ छ।
बिहीबार बिहानसम्म लोथर खोलाले चितवन र मकवानपुर जोड्ने पुलको उत्तरतर्फको कच्ची बाटो र बाटोको सुरक्षार्थ लगाइएको लञ्चिङ जाली बगाइसकेको छ । मुख्य राजमार्ग क्षेत्रको दक्षिणतर्फका प्रायः बस्ती डुबानमा परेका छन्।
खैरहनीतर्फका पनि विभिन्न क्षेत्र डुबानमा परेका छन्। पूर्व पश्चिम राजमार्गको चैनपुरदेखि शान्तिचोकसम्म सडकमै पानी बगेको छ।
लगातारको बर्षासंग आएको बाढीले खैरहनी नगरपालिका २ मा रहेको लदरी खोला पुल भाँचिएको छ ।




