काठमाडौ । ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख भन्दा बढी पुगेको छ । यो आँकडा आधार मान्ने हो भने कोरोनाबाट मृत्यु हुने विश्वकै दोस्रो हो । सुस्त खोप अभियान र जाडो मौसमको सुरु भएकाले अझै अवस्था खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।
राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन ध्यान केन्द्रित नगर्दा फेरी संक्रमण तीव्र गतिमा फैलिरहेको बताइएको छ ।ब्राजिलमा हालसम्म १५ प्रतिशत वयस्कहरुले मात्र पूर्ण मात्रामा खोप लगाएका बिबिसीले उल्लेख गरेको छ ।
कंग्रेसले महामारीलाई नियन्त्रण गर्न सरकारले चालेको कदमबारे अनुसन्धान गरिरहेको छ । संगठितरुपमा राष्ट्रिय अभियान लागू नगरेको, खोपप्रति सन्देह देखाएको, लकडाउन र मास्क लगाउनुपर्ने नियमलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति बोल्सोनारोको आलोचना हुँदै आएको छ ।
विपक्षीले उनीमाथि राजनीतिक स्वार्थका लागि खोप खरिदमा ढिलाइ गरेको र महामारीको गम्भीरतालाई बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।
ब्राजिलमा ‘गामा’ नामक कोरोनाभाइरसको निकै संक्रामक भेरियन्ट सक्रिय रहेको छ । पछिल्लो एक हप्तामा ब्राजिलमा दैनिक ७० हजार बढी संक्रमित फेला परिरहेका छन् । प्रत्येक राज्यमा आईसीयूमा ८० प्रतिशत वा सोभन्दा बढी बिरामीहरुले भरिएका छन् । ब्राजिलमा १ करोड ७८ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।
बिबिसीको सहयोग




