काठमाडौं । नेपाली कांग्रेसले भक्तपुरका ३८ वटै वडाभित्रका मन्दिरहरुमा पूजा अर्चनासहित दीप प्रज्वलन गर्ने भएको छ । कांग्रेसले जेठ २२ गते शनिबार बिहान ७ बजे मन्दिरहरूमा पूजाअर्चनासहित दीप प्रज्वलन गर्न निर्देशन दिएको हो ।
दुवै क्षेत्रका क्षेत्रीय सभापतिहरु जीवन खत्री र नारायणभक्त खायमली बुधबार संयुक्त विज्ञप्ति जारी गरेर भक्तपुर जिल्लाका ३८ वटै वडाका पायक पर्ने मन्दिरमा पूजाअर्चना गर्न निर्देशन दिएका हुन । भक्तपुर कांग्रेसले कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै पूजाअर्चनासहित दीप प्रज्वलन गर्न निर्देशन दिएको हो ।
‘नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायत पार्टीका विभिन्न तह तप्काका साथीहरू एवं विदेशमा रहनुभएका नेपालीहरू कोरोनाबाट संक्रमित भई स्वास्थ्य लाभ गर्नुभएका सम्पूर्णलाई शुभकामना दिँदै संक्रमित भइ उपचाररत दाजुभाई तथा दिदीबहिनीहरूमा शीघ्र स्वास्थ्य लाभको कामना हेतु जेठ २२ गते शनिबार बिहान ७ गते एकै साथ ३८ वटा वडाका पायक पर्ने मन्दिरहरू, स्थानीय जनप्रतिनिधि लगायत भ्रातृ संस्थाका साथीहरूको समन्वय र उपस्थितिमा पूजाअर्चनासहित दीप प्रज्वलन कार्यक्रम गर्न गराउन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।
अलोकतान्त्रिक र असंवैधानिक तवरले अघि वढेको वर्तमान कम्युनिष्ट सरकारका कारण मुलुकमा राजनीतिक र संवैधानिक संकट निम्तिएको क्षेत्रीय सभापति जीवन खत्रीले बताए । वर्तमान सरकारको उदासिनता र विवेकहीन कार्यले कोरोना महामारी अनियन्त्रित अवस्थामा पुगेको खत्रीले आरोप लगाए । जनताको जीवन रक्षा गर्न छोडेर भष्टचार र सत्ताको खेलमा सरकार र्निलिप्त हुदँ मुलकमा भयाभह स्थिति सिर्जना भएको खत्रीको ठहर छ ।





