विश्व

मालिको संवैधानिक अदालतद्धारा उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपति घोषणा

एएनआई । मालिको संवैधानिक अदालतले उपराष्ट्रपति कर्णेल अस्सिमी गोइतलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेको छ ।    
    
एक हप्ता अगाडि अन्तरिम राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले पक्राउ गरेर नियन्त्रणमा राखेको थियो । उनीहरुलाई राजधानी बामाको नजिकै रहेको एक सैन्य कार्यालयमा राखिएको जनाइएको छ ।    
    
उनीहरुले कानूनको उल्लङ्घन गरेकाले उनीहरुलाई पदबाट हटाइएको उपराष्ट्रपति गोइतले मङ्गलबार बताउनुभएको थियो । उहाँले नै देशको सैनिक परिषद्को नेतृत्व गर्नुभएको छ । त्यसैले नै शासन गर्ने जनाइएको छ ।    
    
“अर्को व्यवस्था नभएसम्मका लागि उपराष्ट्रपतिले नै अन्तरिम राष्ट्रपतिको रुपमा देशको नेतृत्वदायी जिम्मेबारी निर्वाह गर्नुहुनेछ, उहाँकै नेतृत्वमा सरकार सञ्चालन हुनेछ”, अदालतद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।    
    
संयुक्त राष्ट्रसङ्घले भने राष्ट्रपति र प्रधानमन्त्रीलाई गिरफ्तार गरिएको घटनाप्रति आपत्ति जनाएको छ । उसले उनीहरुलाई बिनाशर्त तत्काल रिहा गर्न पनि माग गरेको छ ।     
    
“जसले उहाँहरुलाई नियन्त्रणमा राखेका छन्, उनीहरुले नै यसबारेमा तत्काल जवाफ दिनेछन् भन्ने हामीले विश्वास लिएका छौँ”, राष्ट्रसङ्घीय उच्च अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।    
    
अफ्रिकी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग आफूहरु निरन्तर निकट सम्पर्कमा रहेको र मालिमा उत्पन्न सङ्कटलाई सकारात्मक तरिकाले अन्त्य गर्न प्रयास गरिरहेको पनि राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् । अफ्रिकी मुलुक मालिमा लामो समयदेखि राजनीतिक सङ्कट गहिरिँदै गएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *