काठमाडौं । कवि एवं लेखिका डा. बानिरा गिरीको निधन भएको छ। उनलाई २० दिनअघि कोभिड देखिएको थियो । ७५ वर्षको उमेरमा आइतबार राति १० बजे हृदयाघातका कारण निधन भएको परिवार स्रोतले जनाएको छ ।
आइतबार राति नै सिभिल अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए।
उनी विद्यावारिधि गर्ने पहिलो महिलाका रुपमा चिनिन्थिन् । गिरीले कवि गोपालप्रसाद रिमालमाथि शोध गरेवापत त्रिभुवन विश्वविद्यालयबाटै पिएचडीको उपाधि प्राप्त गरेकी थिइन् ।
विद्यावारिधि गर्दाको क्रममा उनले ‘कारागार’उपन्यास लेखेकी थिइन् । जुन निकै चर्चित कृति मानिन्छ । उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो। डा. गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन्।




